३ असोज, काठमाडौं । आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपालका नागरिकको लामो बलिदानीपूर्ण सङ्घर्ष र संविधानसभाको ऐतिहासिक उपलब्धिको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने परम्परा अनुरूप यस वर्ष पनि सरकारले सार्वजनिक बिदा दिई औपचारिक कार्यक्रमहरूको आयोजना गरेको छ।
संविधान दिवसको मूल समारोह आज बिहान ८ः३० बजे राजधानीको सैनिक मञ्च, टुँडिखेलमा सम्पन्न हुँदैछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ भने प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
हालको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै यस वर्ष झाँकीसहितका प्रदर्शन भने स्थगित गरिएको सरकारका उच्च स्रोतले जनाएको छ। तर, राष्ट्रिय ध्वजारोहण, सम्मान गार्दा, सैनिक सलामी र औपचारिक सम्बोधनका माध्यमबाट संविधान दिवसको मूल कार्यक्रम सम्पन्न गरिनेछ।
२०७२ साल असोज ३ गते लामो विवाद र छलफलपछि दोस्रो संविधानसभाले ‘नेपालको संविधान, २०७२’ पारित गरेको थियो। सोही दिन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभा बैठकमार्फत संविधान जारी भएको घोषणा गरेका थिए ।
संविधान निर्माण प्रक्रिया नेपालका राजनीतिक इतिहासकै जटिल र संवेदनशील चरणमध्ये एक थियो। विभिन्न राजनीतिक शक्तिहरूबीचको सहमति, असहमति र लामो छलफलपछि बनेको संविधानलाई नेपाली जनताको ऐतिहासिक उपलब्धि मानिन्छ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। यस दिनले नेपालको सार्वभौमिकता, जनताको अधिकार र लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्ने आधारशिला रहेको जनाइएको छ। संविधानलाई मुलुकको साझा राजनीतिक दस्तावेजका रूपमा लिई मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थातर्फ अघि बढाउने ऐतिहासिक माइलस्टोनका रूपमा स्मरण गरिन्छ।
संविधान दिवसको अवसरमा सरकारले देशभरका नागरिकलाई राष्ट्रिय एकता, सहमति र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणमा योगदान पुर्याउन आह्वान गरेको छ। साथै, संविधानलाई कार्यान्वयनमार्फत समावेशी, समानता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।















