Logo

३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन्।

संविधान दिवसको ऐतिहासिक अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ ले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई साझा राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई प्रेरणा दिने अपेक्षा व्यक्त गरे। संविधानको मर्म कार्यान्वयनमार्फत मात्र राजनीतिक स्थायित्व र दिगोपनामा पुग्न सकिने उनको भनाइ थियो।

यस अवसरमा उनले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे। त्यस्तै, लोकतन्त्र र गणतन्त्रको यात्रामा योगदान पुर्‍याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकप्रति समेत सम्मान प्रकट गर्दै संविधान कार्यान्वयनको यात्रामा सबैलाई एकजुट हुन आह्वान गरे।

राष्ट्रपति पौडेलले संविधानले हिमाल, पहाड र तराईका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण प्रदान गरेको स्मरण गराउँदै आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने कुनै कार्य कसैबाट पनि नहुने विश्वास व्यक्त गरे।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले सबै नागरिकले राज्यका सेवा तथा सुविधामा समान पहुँच पाउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई योगदान दिन सबै नागरिकलाई आह्वान गरे। संविधानले दिएको अधिकार र कर्तव्यलाई आत्मसात् गर्दै देशलाई समावेशी, समानतामूलक र समृद्ध भविष्यतर्फ अघि बढाउन सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम जनतालाई साझा प्रतिबद्धता जनाउन उनले आग्रह गरे।


सम्बन्धित समाचार
भर्खरै