३ असोज, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक तथ्य र त्यसले पुर्याएको उचाइलाई आत्मसात् गर्न सबैमा आह्वान गरेका छन्।
संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस वर्षको संविधान दिवस विशेष राजनीतिक परिस्थितिमा मनाइँदै गरेको उल्लेख गर्दै यसलाई मौलिक र विशिष्ट रहेको बताए।
उनले भने, “यतिवेला हामी ११ औँ संविधान दिवस फरक तरिकाले मनाउँदै छौँ। जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा संविधान दिवस मनाइरहेका छौँ। यही नै यसपटकको दिवसको मौलिकता र विशेषता हो।”
प्रचण्डले संविधान निर्माणसम्मको यात्रा करिब सात दशक लामो संघर्षपछि मात्रै सम्भव भएको स्मरण गरे। उनले यो अवधिमा अनेकौँ आन्दोलन र जनआन्दोलन भएको उल्लेख गर्दै जनयुद्धले ल्याएको ऐतिहासिक उचाइलाई आजको संविधानमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार, संविधान निर्माण प्रक्रिया स्वयं जटिल र चुनौतीपूर्ण रहेको थियो। “एकथरी राजनीतिक शक्तिहरू संविधानसभाबाट दलित, महिला, मधेसी, कर्णालीदेखि मेची–महाकालीसम्मको पहिचान सुनिश्चित भएको संविधान बनाउन रुचि राख्दैनथे,” उनले भने।
संविधान निर्माणका क्रममा ठूला दलको अहङ्कारकै कारण आजको अवस्था सिर्जना भएको प्रचण्डको भनाइ छ। उनले भने, “संविधानलाई अझ प्रगतिशील बनाउन सकिन्थ्यो, तर ठूला दलहरूको अहङ्कारले गर्दा त्यो सम्भव भएन।”
उनले संविधान घोषणा अघि तत्कालीन अवस्थामा आफूले विभिन्न नेताहरुलाई प्रधानमन्त्रीको अफर दिनुपरेको स्मरण गर्दै, त्यसै कारण संविधान समयमै जारी गर्ने अवसर मिलेको दाबी गरे। “यदि मैले त्यस्तो कदम नचालेको भए के हुन्थ्यो भन्ने कुरा अझै पनि मेरो दिमागमा घुमिरहेको छ,” प्रचण्डले भने।
प्रचण्डले अहिलेको जेनजी आन्दोलनलाई संविधानमा अझ प्रगतिशील पक्षहरू समावेश गर्न नसकिएको परिणामका रूपमा पनि व्याख्या गरे। उनका अनुसार, यदि संविधानलाई आफ्नो चाहना अनुसार बनाउन सकिएको भए जेनजी पुस्ताले आन्दोलन गर्ने अवस्था नआउन सक्ने थियो।
संविधान निर्माणका क्रममा आफूले ठूलो दबाब र धम्की सहनुपरेको पनि उनले स्मरण गरे। उनले भने, “संविधानलाई आजभन्दा अझ प्रगतिशील बनाउन सकिन्थ्यो, तर त्यसका लागि अपार चुनौती र दबाब सहनुपर्यो।”
कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि संविधान दिवसलाई लोकतान्त्रिक उपलब्धिको स्मरणमात्र नभई संविधानलाई अझ सुदृढ, प्रगतिशील र कार्यान्वयनमुखी बनाउन प्रतिबद्ध हुने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।















