Logo

३ असोज, चितवन । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ आज चितवनमा शान्तिको प्रतीक परेवा उडाएर औपचारिक रूपमा मनाइएको छ।

संविधान दिवस मूल समारोह समिति चितवनले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा दुई जोडी परेवा उडाएर दिवसको उद्घाटन गरे। परेवा उडाइएकाे कार्यलाई मुलुकमा दिगो शान्ति र समृद्धिको कामना स्वरूप प्रतीकात्मक रूपमा लिइएको थियो।

दिवसको अवसरमा जिल्ला समन्वय समिति परिसरमा झण्डोत्तोलन, वृक्षारोपण लगायतका कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, राजनीतिक दलका नेताहरू र समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानलाई सफलतापूर्वक कार्यान्वयन गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले भने, “संविधानको निरन्तरता र यसको प्रभावकारी कार्यान्वयन हाम्रो सामूहिक दायित्व हो, त्यसका लागि सबै तह र क्षेत्रबाट सहकार्य आवश्यक छ।”

चितवनमा आयोजित कार्यक्रमलाई संविधान दिवसलाई राष्ट्रिय ऐक्यबद्धता, लोकतान्त्रिक उपलब्धि र शान्ति–समृद्धिप्रतिको प्रतिबद्धताको दिवसका रूपमा मनाइएकै रूपमा लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै