३ असोज, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो पदबाट कुनै पनि हालतमा राजीनामा नदिने दृढ अडान लिएका छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू संघीयता र संविधानको रक्षाका लागि पदमा अडिग रहेको बताए । मुख्यमन्त्री सिंहले स्पष्ट पारे कि कुनै व्यक्ति वा समूहको चाहनामा आफूले राजीनामा दिँदैनन्। उनले भने, ‘म सदनको सामना गर्न तयार छु। संसदबाट विश्वासको मत पाउन नसके मात्र पद छोड्छु।’
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति भएकोले आफूले क्षणिक रूपमा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेको स्वीकार गरे। तर, त्यसलाई आफ्नो तत्कालको भावनात्मक निर्णय मात्र भन्दै उनले अब आफू दृढतापूर्वक पदमा रहने बताएका छन् ।
उनले १० वर्षे माओवादी जनयुद्धमा भएको क्षतिभन्दा पनि बढी भौतिक संरचनाको क्षति दुई दिनको आन्दोलनमा भएको भन्दै चिन्ता व्यक्त गरे। यसैले, संघीयतालाई जोगाउन अब सबै मधेसी जनता एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।















