३ असोज, काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा लगातार बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, भदौ ३० गते सोमबारसम्म बैंकिङ प्रणालीको कुल निक्षेप ७३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो वृद्धि खासगरी वाणिज्य बैंकहरूमा भएको निक्षेप संकलनमा देखिएको छ, जुन एकै दिनमा ६ अर्बले बढेर ६५ खर्ब ५६ अर्ब पुगेको छ। यसरी निक्षेप बढ्नुले बजारमा तरलताको अवस्था केही सहज बन्दै गएको संकेत गर्छ ।
निक्षेपसँगै, बैंकहरूले प्रवाह गर्ने कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ३ अर्बले बढेर ५६ खर्ब २५ अर्ब पुगेको छ। यसले अर्थतन्त्रमा कर्जाको माग पनि स्थिर रूपमा कायम रहेको देखाउँछ ।
यसैगरी, केन्द्रीय बैंकको तथ्यांकअनुसार, बैंकिङ प्रणालीको औसत सीडी रेसियो ७६ दशमलव ०५ प्रतिशतबाट घटेर ७६ दशमलव ०४ प्रतिशतमा झरेको छ। यसले पनि बैंकहरूले कर्जा व्यवस्थापनमा सन्तुलन कायम गरेको देखाउँछ। साथै, अन्तर बैंक ब्याजदर २।७५ प्रतिशत कायम भएको छ।















