३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीको नेतृत्व र संरचनामा आमूल परिवर्तनको माग गर्दै चार बुँदे प्रस्ताव अगाडि सारेकी छन् ।
हालै भएको ‘जेनजी’ आन्दोलनको पृष्ठभूमिमा उनले पार्टीलाई समयको मागअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएकी हुन् । ‘जेनजी’ आन्दोलनपछि पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्वीकार गर्दै कार्कीले पार्टीले आन्दोलनबाट सिर्जित पीडा, क्षति र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन् । उनले यस आन्दोलनले समाजमा ल्याएको चेतना र परिवर्तनको लहरलाई आत्मसात गर्दै सबै उमेर, वर्ग र क्षेत्रका जनताको भावना समेटेर अगाडि बढ्नुपर्ने बताएकी छन्।
पार्टीको ‘पुनरावलोकन’ र नयाँ नेतृत्वको माग
डा.कार्कीको प्रस्तावको मुख्य सार भनेको रास्वपाले आफ्नो नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रमहरूको पुनःमूल्यांकन गर्नुपर्ने हो । कार्कीले जेनजी आन्दोलनले मागेको सुधारात्मक परिवर्तनलाई संस्थागत गर्न अहिले नै उपयुक्त समय भएको बताएकी छिन् । प्रस्तावमा, उनले रास्वपालाई आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति बनाउनका लागि आन्तरिक रूपान्तरणसँगै अन्य दल र स्वतन्त्र व्यक्तिहरूसँग पनि सहकार्य गर्नुपर्ने सुझाव दिएकी छन्। यो प्रस्तावले रास्वपाभित्र युवा पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने दबाब बढेको संकेत गर्छ।
















