Logo

३ असोज, काठमाडौं । इजरायलद्वारा गाजामा सैन्य आक्रमण तीव्र बनाइरहेका बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तुत युद्धविराम प्रस्तावमा अमेरिकाले भिटो हानेको छ। प्रस्तावमा परिषद्का १५ मध्ये १४ सदस्यले समर्थन जनाए पनि अमेरिकी असहमतिको कारण प्रस्ताव अस्वीकृत भएको हो।

उक्त प्रस्ताव परिषद्का १० निर्वाचित सदस्य राष्ट्रहरूले तयार गरेका थिए। प्रस्तावमा गाजामा तत्काल, बिना शर्त र स्थायी युद्धविरामको आह्वान गरिएको थियो। साथै, हमास र अन्य समूहहरूले कब्जामा राखेका बन्धकहरूको तत्काल रिहाइ तथा मानवीय सहायता रोक्न लगाइएका प्रतिबन्धहरू हटाउन आग्रह गरिएको थियो।

तर अमेरिकाले प्रस्तावमा हमासको स्पष्ट रूपमा निन्दा नगरिएको र इजरायलको आत्मरक्षा अधिकारलाई अस्वीकार गरिएको भन्दै आपत्ति जनाएको छ। मध्यपूर्वका लागि अमेरिकी उप विशेष दूत मोर्गन ओर्टागसले भनिन्, “यस प्रस्तावले हमासलाई लाभ हुने झूटा कथा वैध बनाउँछ, त्यसैले हाम्रो विरोध कुनै आश्चर्य होइन।”

अमेरिकी भिटोप्रति प्यालेस्टिनी तथा अरब प्रतिनिधिहरूले तीव्र असन्तोष व्यक्त गरेका छन्। प्यालेस्टिनी दूत रियाद मन्सुरले भने, “सुरक्षा परिषद्को मौनता यसको विश्वसनीयता र नैतिक अधिकारमा ठूलाे मूल्यमा आउँछ। अत्याचार भइरहँदा भिटो प्रयोग हुनु निन्दनीय हो।”

अल्जेरियाका राष्ट्रसंघीय दूत अमर बेन्दजामाले भावुक अभिव्यक्ति दिंदै भने, “प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस्। संसारले अधिकारको कुरा गर्छ तर तपाईँहरूको अधिकार अस्वीकार गरिन्छ।”

इजरायलको समर्थनमा अमेरिका

इजरायली राजदूत ड्यानी डेननले अमेरिकाको भिटोको स्वागत गर्दै भने, “गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन।” यसबाट स्पष्ट देखिन्छ कि अमेरिका अहिले पनि इजरायलको स्पष्ट समर्थनमा उभिएको छ।

यो मतदान संयुक्त राष्ट्रसंघको स्थापनाको ८०औं वार्षिकोत्सवकै दिनमा भएको थियो, जसले घटनालाई अझ गम्भीर बनाएको छ। अल जजिराका कूटनीतिक सम्पादक जेम्स बेजले भने, “यो एक उदास क्षण हो। अमेरिकाको ‘अमेरिका–पहिलो’ सोच अझै पनि बहुपक्षीय कूटनीतिको विरोधमा उभिएको छ।”


सम्बन्धित समाचार