३ असोज, काठमाडौं । गत भदौ २४ गतेको विरोध प्रदर्शनले सरकारी र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुर्याएको थियो। विशेषगरी सिंहदरबार र त्यस आसपासका क्षेत्रलाई मुख्य निशाना बनाइएको प्रदर्शनमा सरकारी भवनहरूमा आगजनी र त्यहाँ रहेका सवारी साधनमा व्यापक तोडफोड गरिएको थियो।
सरकारी तथ्याङ्कअनुसार, सो दिन सिंहदरबार र वरपरका कार्यालय परिसरमा रहेका १०४२ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्। अहिले ती भग्नावशेष सवारी साधनहरूलाई व्यवस्थापन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सिंहदरबारभित्र अलपत्र अवस्थामा रहेका ती सवारीहरूलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सारेर व्यवस्थापन गरिँदैछ। भग्न सवारी हटाइने क्रम जारी छ भने आगलागीबाट क्षतिग्रस्त भएका सरकारी भवनहरूको मर्मतसमेत शुरू गरिएको छ।
प्रदर्शनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, र संघीय मामिला मन्त्रालय सबैभन्दा बढी प्रभावित भएका थिए। साथै, अर्थ मन्त्रालयको एक भागमा आगलागी हुँदा गम्भीर क्षति पुगेको थियो। अहिले त्यहाँ रङरोगन र पुनः निर्माणको काम अगाडि बढाइएको छ।
सरकारी स्रोतका अनुसार, क्षतिग्रस्त सम्पत्तिको मूल्याङ्कन कार्य पनि चलिरहेको छ, र आवश्यक परेमा कानुनी प्रक्रिया पनि अघि बढाइने छ।















