३ असोज, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको गम्भीर आरोप लगाएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर आन्दोलन गरेका थिए। भदौ २३ गते काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो। सोही दिन ओली प्रधानमन्त्री थिए।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा ओलीले सरकार वा प्रहरी प्रशासनले ताकीताकी गोली हान्ने आदेश नदिएको दाबी गर्दै भनेका छन्, “प्रदर्शनमा प्रहरीले प्रयोग नगर्ने स्वचालित हतियार प्रयोग भएको छ। यसको निष्पक्ष छानबिन आवश्यक छ।”
यद्यपि, उनले आफूले गरेको दाबीको आधार वा प्रमाण खुलाएका छैनन्। सुरक्षाकर्मीहरू वा सरकारका कुनै आधिकारिक स्रोतले पनि स्वचालित हतियार प्रयोग भएको पुष्टि गरेका छैनन्।
ओलीले भदौ २३ को घटनालाई जनआन्दोलनभन्दा फरक ढंगमा चित्रण गर्दै भनेका छन्, “राजीनामापछि सिंहदरबारदेखि संसद भवन, दलका नेताहरूको घर छानीछानी जलाइयो।” उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट, भदौ २४ मा, नेपाली सेनाको सुरक्षामा प्रवेश गरेका थिए।
प्रदर्शनकारीहरूले बालकोटस्थित उनको निजी निवासमा समेत आक्रमण गरेको थियो भने उनी हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्न थालेका छन्।
यसैबीच, संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओली अनुपस्थित रहे। पार्टीभित्रको रणनीति र सुरक्षा अवस्थाका कारण उनी सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन्।
ओलीको पछिल्लो अभिव्यक्तिले जेन–जी आन्दोलनका घटनाप्रति नयाँ बहस जन्माएको छ। घटनाको निष्पक्ष छानबिन र दोषी पहिचानका लागि सरकारमाथि दबाब बढ्न थालेको छ।















