३ असोज,वीरगञ्ज ।संविधान दिवसको अवसरमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले एक विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन्, जसमा ५ महिला र ४९ पुरुष रहेका थिए।
रक्तदान कार्यक्रमका सम्बन्धमा रक्तसञ्चार केन्द्र वीरगन्जका जितेन्द्र प्रसाद कुश्वाहाले जानकारी दिए। कार्यक्रममा रसिला घिमिरे, सावित्री सिंह, सपना बम्जन, रिपु चौधरी, सुष्मा तामाङ लगायतका व्यक्ति सहभागी थिए।
उपमहानगरपालिकाले अस्पतालहरुमा विभिन्न जटिल रोगका बिरामीहरूको उपचारमा रगतको अभाव नहोस् भनेर रक्तदानको यो कार्यक्रम आयोजना गरेको जनाएको छ। साथै, संविधान निर्माणका लागि भएका विभिन्न चरणका आन्दोलनमा शहिद भएका वीरहरू र घाइतेहरूको सम्झनामा पनि संविधान दिवसको दिन रक्तदान गरिएको बताइएको छ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन श्रीवास्तव प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई र नेपाल रेडक्रस सोसाइटी पर्साका रक्तसञ्चार केन्द्रका प्रमुख प्रतिनिधि तथा प्राविधिकहरू पनि उपस्थित थिए।

















