Logo

३ असोज,वीरगञ्ज । पर्सा जिल्लाका दलित महिलाहरूको सशक्तीकरण र सामाजिक सहभागिता बढाउने उद्देश्यले तीनदिने क्षमता अभिवृद्धि तालिम वीरगञ्जमा सुरु भएको छ।

टेवा संस्थाको आर्थिक सहयोग र दलित महिला संघ पर्साको आयोजनामा सञ्चालित तालिममा पर्सा जिल्लाका विभिन्न क्षेत्रबाट २८ जना दलित महिलाहरूको सहभागिता रहेको छ।

शुक्रबार सम्पन्न तालिमको दोस्रो दिन विशेष सत्रमा सहभागी महिलाहरूले नेतृत्व क्षमता विकास, कानुनी अधिकार, आर्थिक सशक्तीकरणका उपाय, र सामाजिक सहभागिता विषयमा ज्ञान लिएका छन्। आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य दलित महिलाहरूलाई अधिकारप्रति सचेत बनाउँदै नेतृत्व भूमिकामा उभ्याउनु हो।

कार्यक्रम दलित महिला संघ पर्साकी संस्थापक निला रामको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण निभा सिंहले गरेकी थिइन्। विशेष सत्रमा वीरगञ्ज महानगरपालिका–८ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक रितेश कुमार गुप्ताको उपस्थिति रहेको थियो।

अध्यक्ष निला रामले यस्ता तालिमहरू दलित समुदायको समग्र सशक्तीकरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी महिलाहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरिन्।

दलित महिला संघ पर्साले आगामी दिनमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिने र थप महिलाहरूलाई समेट्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार
भर्खरै