Logo

३ असोज, काठमाडौं । जेनजी आन्दोलनले पोखरामा गरेको तोडफोड र आगजनीको सबैभन्दा ठूलो सिकार कास्की जिल्ला अदालत भएको छ ।

भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले अदालत परिसरमा प्रवेश गरी महत्त्वपूर्ण भौतिक संरचना र मुद्दाका अभिलेखहरू जलाएका छन् । घटनाको गम्भीर पक्ष भनेको आन्दोलनकारीले सुरुमै अदालतको ३ नम्बर फाँटलाई निशाना बनाएको भन्ने खुलासा हो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दाका मिसिलहरू राखिएका थिए । काठमाडौंमा रवि लामिछाने कारागारबाट बाहिर निस्किएको खबरपछि पोखराका उनका समर्थकहरूले ‘अब रविको मुद्दा रहेको अदालत फोर्ने’ अभिव्यक्ति दिएको पनि बताइएको छ। यो घटना संयोग वा योजनाबद्ध भन्नेबारे थप छानबिन आवश्यक छ।

न्याय प्रणालीमा गम्भीर धक्का

आगजनीबाट अदालतका ५ वटा इजलास, ४ वटा सरकारी सवारी साधन र ७० हजारभन्दा बढी फैसला भइसकेका मुद्दाका अभिलेखहरूमध्ये करिब आधा नष्ट भएका छन्। यसले कास्कीको न्याय प्रणालीमा गम्भीर असर पुर्‍याएको छ । अधिवक्ताहरूले महत्त्वपूर्ण मुद्दाका कागजात र नजिरहरू नष्ट हुँदा भविष्यमा न्याय प्रक्रिया नै प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अहिले अदालतले बन्दीप्रत्यक्षीकरण र म्याद थप जस्ता केही अत्यावश्यक सेवाहरू मात्र सुरु गरेको छ। तर, नियमित काम कारबाही सुचारु हुन अझै कति समय लाग्छ, त्यो भन्न सकिने अवस्था छैन। यो घटनाले जेनजी आन्दोलनको शान्तिपूर्ण चरित्रमाथि प्रश्नचिह्न खडा गरेको छ, जसले सार्वजनिक सम्पत्तिको विनाश र न्यायिक प्रणालीमाथिको प्रहार जस्ता गम्भीर परिणाम ल्याएको छ।


सम्बन्धित समाचार
भर्खरै