३ असोज,वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका मधेस प्रदेशका विभिन्न सरकारी कार्यालयहरूको उच्चस्तरीय टोलीले आज निरीक्षण गरेको छ।
माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, माननीय मुख्यमन्त्री सतिश कुमार सिंह र माननीय सभामुख रामचन्द्र मण्डल सहितको टोलीले क्षतिग्रस्त संरचनाहरूको प्रत्यक्ष अवलोकन गरेको हो। टोलीले प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयहरूको निरीक्षण गरी क्षतिको यथार्थ अवस्थाबारे जानकारी लिएको छ।
निरीक्षणका क्रममा आन्दोलनकारीले गरेका तोडफोड र आगजनीका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको पाइएको छ। मुख्यमन्त्री सिंहले निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्षतिग्रस्त भवनहरूको तत्काल पुनर्निर्माण गरिने र प्रशासनिक कार्यलाई छिट्टै सामान्य अवस्थामा फर्काइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रदेश सरकारले यस घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ।















