Logo

३ असोज,वीरगञ्ज । पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये ९ वटा पालिकाका कर्मचारीहरू यो वर्षको दशैंमा तलबभत्तालगायत अन्य सेवासुविधाबाट वञ्चित हुने जोखिममा परेका छन्।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्सा का अनुसार अहिलेसम्म पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, विन्दवासिनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिका मात्र आ–आफ्ना बजेट सूत्रमा प्रविष्ट गरेर खाता सञ्चालनमा ल्याएका छन्। बाँकी ९ पालिकाले परिषद् सम्पन्न गरे पनि खाता सञ्चालनमा चासो नदिँदा कर्मचारीहरू तलबबिनै दशैं मनाउन बाध्य हुने अवस्था सिर्जना भएको हो।

दशैंजस्तो प्रमुख चाडपर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, ठोरी, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर, जिराभवानी र जगरनाथपुर गाउँपालिका का कर्मचारीहरू तनावमा छन्।

धोबिनी र पकहामैनपुर गाउँपालिकामा अझैसम्म चालू आर्थिक वर्षको बजेटसमेत पारित भएको छैन। धोबिनीमा आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। कार्यपालिका सदस्य दिनानाथ कलवारले बताएअनुसार, “अघिल्लो आर्थिक वर्षको हिसाब क्लियर नभएको र पूर्व प्रमुख प्रशासकीय अधिकृतमाथि बजेट हिनामिनाको आरोप लागेकाले चालू वर्षको बजेट सार्वजनिकमा ढिलाइ भएको हो।“

हाल धोबिनीमा नियुक्त भएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाले छिट्टै बजेट सार्वजनिक गरेर सेवा सुचारु गर्ने तयारीमा रहेको जानकारी दिए। धोबिनी–४ का वडाध्यक्ष अब्बास मियाँ चुडिहारले भने, “कर्मचारी आन्दोलनमा जानुपर्ने अवस्था नआओस् भनेर १–२ दिनमै सहमति जुटाएर बजेट पारित गर्ने प्रयास भइरहेको छ।”

केही पालिकाहरूमा बजेट पारित भए पनि प्रमुख प्रशासकीय अधिकृतहरू मन्त्रालयमा सरुवाको माग गर्दै निवेदन दर्ता गराई बसेका कारण खाता सञ्चालनमा ढिलाइ भएको बताइएको छ। जेन–जी आन्दोलनपछि प्रशासनिक सरुवा–बदल प्रक्रियामा अन्योल उत्पन्न भएकाले पालिकाहरू अझै सञ्चालनमा आउन सकेका छैनन्।

वीरगञ्ज महानगरमा बजेट संशोधनको प्रक्रिया

वीरगञ्ज महानगरपालिकामा जेन–जी आन्दोलनको क्रममा कार्यालयहरूमा तोडफोड र आगजनी भएका कारण क्षतिको पुनर्निर्माणका लागि बजेट संशोधन आवश्यक रहेको महानगरका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार, “संशोधित बजेटमार्फत खाता सञ्चालन चाँडै हुनेछ र महानगरका कर्मचारीहरूले दशैंअघि नै तलबभत्ता पाउनेछन्।“

दशैंजस्तो ठूला पर्वमा पालिकाले प्रशासनिक तयारी नगर्दा कर्मचारीहरू आर्थिक समस्यामा पर्न थालेका छन्। अबको केही दिनभित्र खाता सञ्चालन नगरे जिल्लाका सयौं कर्मचारीहरू बिनातलब दशैं मनाउन बाध्य हुनेछन्।


सम्बन्धित समाचार
भर्खरै