Logo

३ असोज, काठमाडौं । हालैको जेनजी आन्दोलनले राजनीतिक र सामाजिक अस्थिरता मात्र होइन, देशको सुरक्षा प्रणालीमा समेत गम्भीर चुनौती थपेको छ ।

भदौ २४ गते देशभरका विभिन्न २८ कारागार र ९ बालसुधार गृह तोडेर भागेका १४ हजार ५५५ कैदीबन्दीमध्ये अझै पनि ८ हजार ३७५ जना फरार छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिएको जानकारीअनुसार, कारागारतर्फका ७ हजार ७५३ र बालसुधार गृहका ६२२ बन्दी अझै नियन्त्रणमा आएका छैनन् । यो अवस्थाले देशको सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ ।

पक्राउ र मृत्युको तथ्यांक

विभागका अनुसार, भागेकामध्ये हालसम्म ६ हजार १७९ जना मात्र फिर्ता भएका छन्। भाग्न खोज्नेहरूलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाको कारबाहीमा परी ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रामेछाप र धादिङ कारागारका ५ जना तथा नौबस्ता बालसुधार गृहका ६ जना रहेका छन् । यो घटनाले जेनजी आन्दोलनको चरित्रमा मात्रै होइन, यसको नियन्त्रण र त्यसपछिको सुरक्षा व्यवस्थापनमा पनि सरकारको कमजोरी उजागर गरेको छ।

हजारौंको संख्यामा अपराधीहरू समाजमा खुला रूपमा घुमिरहँदा आम नागरिकमा त्रास बढेको छ। फरार कैदीबन्दीहरूलाई यथाशीघ्र पक्राउ गरी शान्ति सुरक्षा कायम गर्नु सरकारको लागि अबको प्रमुख चुनौती बनेको छ।


सम्बन्धित समाचार
भर्खरै