Logo

४ असोज, चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा गएराति गएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी यातायात अवरुद्ध भएको छ।

गएराति करिब सवा सात बजेतिर खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो। माथिबाट निरन्तर माटो र ढुंगामाटो खसिरहेकाले तत्काल सडक खोल्ने प्रयास असफल भएको प्रहरीले जनाएको छ।

मुग्लिन प्रहरी चौकीका अनुसार रातभर यात्रु र सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। अन्धकार र लगातार पहिरो खस्ने जोखिमका कारण राति सडक खोल्ने कार्य अघि बढाउन नसिएको प्रहरीले स्पष्ट पारेको छ। अहिले बिहानदेखि डोजरलगायतका उपकरण परिचालन गरेर पहिरो पन्छाउने तयारी भइरहेको भए पनि माथिबाट निरन्तर ढुंगामाटो खसिरहेकाले अझै समय लाग्ने अनुमान गरिएको छ।

यस सडक खण्ड अवरुद्ध भएपछि पूर्व-पश्चिम र काठमाडौं–पोखरा–चितवन हुँदै जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। सडक बन्द हुँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। लामो दूरीका बस, मालवाहक सवारीसाधन र स्थानीय गाडी सडक किनारमै अड्किएका छन्।

सडक खुलेसँगै वैकल्पिक व्यवस्थापनका लागि प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने र तत्कालीन आवश्यकताका लागि खाद्य तथा पानी उपलब्ध गराउने कार्य पनि सुरु गरिएको छ।

चितवनको मुग्लिन-नारायणगढ सडक मुलुककै व्यस्ततम् राजमार्गमध्ये एक हो। यस क्षेत्रमा वर्षा याममा बारम्बार पहिरो खस्ने गरेकाले यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै