Logo

४ असोज, वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठा र ऐतिहासिक प्रतीक मानिने घण्टाघरको भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार पूरा गरी पुनः पहिलेकै स्वरूपमा ल्याइएको छ। गत फागुन ७ गते कमजोर संरचना भएकाले घण्टाघरको ‘बाल्कोनी’ भाग भत्किँदा इँटा झरेको थियो।

वीरगञ्ज महानगरपालिका भूमि व्यवस्था तथा सहरी विकास महाशाखाका प्रमुख प्रभात झाले जानकारी दिँदै भने, “घण्टाघरको संरचना मेसिनमार्फत मर्मतसम्भार गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले म्यानुअल ढंगले काम गर्दा केही ढिलाइ भयो। तर अहिले घण्टाघरको अधिकांश संरचना मर्मत सकिएको छ र घुम्टोसमेत हटाइएको छ।”

मर्मतका क्रममा घण्टाघरलाई स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली (नेट) ले ढाकिएको थियो। वरपर अत्यधिक सवारीसाधनको चाप हुने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै सो उपाय अपनाइएको महानगरले जनाएको छ। हाल भने सबै अस्थायी संरचना हटाइएपछि घण्टाघर फेरि आफ्नै स्वरूपमा देखिन थालेको छ।

महाशाखा प्रमुख झाले मर्मतसम्भारपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्म टिकाउ हुने अपेक्षा गरिएको बताए। यद्यपि, भित्रका केही संरचना भने समयसँगै पुरानो हुँदै गएको उनले उल्लेख गरे। उनका अनुसार मर्मतसम्भारमा करिब २० लाख रुपैयाँभन्दा कम खर्च भएको प्रारम्भिक अनुमान छ।

वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको हो। सो धरोहर निर्माणका लागि जापानको योनागो सहरका विद्यार्थीहरूले एक दिनको खाजाको पैसा कटाएर बजेट संकलन गरेका थिए। त्यसै बजेटबाट घण्टाघर निर्माण गरी त्यहाँ घडी राखिएको थियो।

स्थानीयवासीका अनुसार घण्टाघर वीरगञ्जको पहिचान र गौरवको प्रतीकका रूपमा स्थापित छ। पछिल्लो समय भत्किएको संरचना मर्मत भएपछि पुनः ऐतिहासिक धरोहरले आफ्नो पुरानो रौनक पाएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्। – रासस


सम्बन्धित समाचार