Logo

४ असोज, काठमाडौं । महान चाड बडादशैं नजिकिँदै जाँदा आन्तरिक हवाई मार्गका टिकट मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। वायुसेवा प्रदायक कम्पनीहरूले न्यूनतम भाडा दरमा टिकट बिक्री बन्द गरी अधिकतम मूल्यमा मात्रै टिकट बिक्री गर्न थालेपछि यात्रुहरू चर्को मारमा परेका छन्।

आन्तरिक उडानमा चढ्ने यात्रुको संख्या दशैं अवधिमा ह्वात्तै बढ्ने हुँदा हवाई कम्पनीहरूले भाडा दर उचाल्ने परिपाटी कायम राख्दै आएका छन्। यस वर्ष पनि सोही परिपाटी दोहोरिँदा विशेष गरी बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने सर्वसाधारणले ठूलो आर्थिक बोझ बेहोर्नु परेको गुनासो बढेको छ।

धनगढी गन्तव्यतर्फको भाडा दर सर्वाधिक बढेको देखिन्छ। शुक्रबारका लागि धनगढी उडान नै नहुँदा यात्रु थप मर्कामा परेका छन्। भोलि र पर्सी (आइतबार र सोमबार) का लागि भने १६ हजार रुपैयाँभन्दा कममा टिकट उपलब्ध छैन। मंगलबार न्यूनतम १२ हजार रुपैयाँमा टिकट देखिएको छ।

यता, फर्किने क्रममा भने भाडा तुलनात्मक रूपमा सस्तो छ। शनिबार धनगढीबाट काठमाडौं फर्कन ६ हजार ९०० रुपैयाँमै टिकट उपलब्ध छ।

धनगढी मात्र नभई सुर्खेत, भद्रपुर र नेपालगञ्जतर्फका उडानमा पनि भाडा दर उल्लेख्य रूपमा बढेको छ। सामान्य अवस्थामा साढे ७ हजार रुपैयाँमा पुगिने सुर्खेत अहिले १० हजार रुपैयाँभन्दा कममा जान सकिँदैन। काठमाडौं–भद्रपुर रुटको भाडा ७ हजार रुपैयाँ नाघेको छ, यद्यपि भद्रपुर–काठमाडौं फर्किन ५ हजार ७०० रुपैयाँमै सम्भव छ। काठमाडौं–नेपालगञ्ज रुटमा पनि दुईदेखि तीन हजार रुपैयाँले भाडा बढेको छ। नेपालगञ्ज जान ८ हजार ३०० रुपैयाँसम्म तिर्नुपरेको छ भने फर्कन ५ हजार ४०० रुपैयाँमै टिकट पाइन्छ।

सम्पन्न वर्गका लागि मात्र पहुँच हुने गरी भाडा अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारण यात्रु ठगिएको महसुस गरेका छन्। दशैंमा परिवारसँग भेटघाट गर्न, उपचारका लागि वा अत्यावश्यक काममा यात्रा गर्नुपर्नेहरूले थप ऋणधन गर्नुपर्ने अवस्था आएको यात्रुहरूको गुनासो छ।

विमान भाडा निर्धारणमा नियामक निकायको प्रभावकारी नियन्त्रण नहुँदा प्रत्येक चाडपर्वमा यस्तो समस्या दोहोरिने गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ। सरकारले हवाई भाडामा पारदर्शिता र उपभोक्ता हितको सुनिश्चितता गर्नुपर्ने माग सर्वत्र उठ्न थालेको छ।


सम्बन्धित समाचार
भर्खरै