Logo

४ असोज, काठमाडौं । एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सुपर–४ चरण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यस चरणमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेशले स्थान बनाएका छन्।

सुपर–४ को पहिलो खेल आज युएईको दुवईमा हुनेछ, जसमा श्रीलङ्का र बङ्गलादेश एकअर्कासँग भिड्नेछन्। खेल नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुनेछ। सुपर–४ चरणमा सहभागी चारै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्, जसको आधारमा फाइनल प्रवेश गर्ने दुई टोली तय हुनेछन्।

यसैबीच, समूह ‘ए’ अन्तर्गत गएराति सम्पन्न अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गर्दै शीर्ष स्थानमा रहँदै सुपर–४ मा स्थान पक्का गरेको हो। भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल भने भोलि हुनेछ।

सुपर–४ चरणमा रोमाञ्चक खेलको अपेक्षा गरिएको छ, जसले एशिया कपको फाइनल समीकरणलाई स्पष्ट बनाउनेछ।


सम्बन्धित समाचार