४ असोज, काठमाडौं । देशभर लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्। यस्तो परिस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको पहलमा मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, सुरक्षा निकाय र मजदुर प्रतिनिधिहरू सम्मिलित भई समग्र यातायात अवरोध र चाडपर्व लक्षित यातायात व्यवस्थापनबारे संयुक्त छलफल भइरहेको छ।
मन्त्री घिसिङले दशैं–तिहारको चापलाई ध्यानमा राखी तत्काल समस्या समाधान र दीर्घकालीन व्यवस्थापनका लागि कार्यदल गठनको तयारी भइरहेको जानकारी दिएका छन्।सबैभन्दा गम्भीर समस्या नारायणगढ–मुग्लिन सडक खण्डमा देखिएको छ। तुइनखोला पुल नजिकै हिजो साँझदेखि खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो निरन्तर खसिरहेकाले डोजर परिचालन गरी पनि सडक खुलाउने प्रयास असफल भएको छ। स्थानीय प्रशासन र डिभिजन सडक कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार देशका विभिन्न सात राजमार्गमा आवागमन अवरुद्ध भएको छ। कोशी राजमार्गको भोटखोला र मकालु गाउँपालिकाको एकुवामा ठूला पहिरो खसेका छन्। त्यस्तै, सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ स्थित सिरिसेमा, र रसुवाको मितेरी पुल क्षेत्र पनि बाढीले अवरुद्ध भएको छ।
अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा, कालीगण्डकी करिडोर, रत्नराजमार्ग, गल्छी–त्रिशूली सडकखण्ड तथा पूर्व–पश्चिम राजमार्गका केही खण्डहरू आंशिकरूपमा एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन्।
सरकारले यात्रुहरूलाई आवश्यक सुरक्षाका उपायहरू अपनाउन, यात्रा गर्दा मौसमको जानकारी लिन र प्रशासनद्वारा सुझाइएको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यातायात अवरुद्ध हुनुका साथै चाडपर्वको मुखमा यात्रीहरूको भीड बढ्दै गएकाले समस्या झन् जटिल बन्दै गएको छ। सम्बन्धित निकायले पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको जनाएको छ।















