४ असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। शनिबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचारका विषयमा पत्रकारलाई ज्यान लिने खालको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाइएको छ।
नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यले एमाले नेता बस्नेत र उनका नजिकका व्यक्तिहरूबाट बारम्बार फोन र म्यासेजमार्फत धम्की आएको जानकारी दिएका छन्। शाक्यका अनुसार शुक्रबार बिहानदेखि निरन्तर धम्की दिइँदै आएको छ।
महासंघको विज्ञप्तिमा भनिएको छ, “नेता स्वयं र उनका सहयोगीहरूले आतंकित पार्ने र त्रसित बनाउने गरी व्यवहार गर्नु दुःखद र निन्दनीय छ।” महासंघले पत्रकारमाथिको धम्कीलाई प्रेस स्वतन्त्रताको घोर उल्लङ्घन भन्दै तत्काल दोषीमाथि कारबाही गर्न सरकार र सुरक्षा निकायसँग माग गरेको छ।
महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने तर धम्की र दवाव कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। “पत्रकारलाई धम्की दिने कार्य रोक्न सम्बन्धित पक्षलाई सचेत गराउँदै, संलग्नहरूमाथि कानुनी कारबाही होस् भन्ने हाम्रो माग छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस घटनाप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै चासो र आपत्ति प्रकट गरिसकेको छ।















