४ असोज,वीरगञ्ज । पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएपछि उहाँलाई बिदाइ गर्न एक विशेष कार्यक्रमको आयोजना गरिएको छ। ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले उहाँको कार्यकालको प्रशंसा गरेका छन्।
बिदाइ कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले एसपी मिश्रले सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र सामुदायिक प्रहरीको अवधारणा प्रवर्द्धनमा पुर्याएको योगदानको सराहना गरेका थिए।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले एसपी मिश्रको इमानदारिता र जनताप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै भन्नुभयो, “उहाँको कार्यकालमा पर्साको सुरक्षा व्यवस्था थप सुदृढ भएको छ।” उहाँले एसपी मिश्रलाई भविष्यको कार्यक्षेत्रमा पनि सफलताको शुभकामना दिनुभयो।
उक्त कार्यक्रममा पत्रकारहरू, स्थानीय नागरिक, समाजसेवीहरू र रुङ्गटा वेल्फेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुङ्गटा लगायतको उपस्थिति थियो। सबैले एसपी मिश्रलाई उहाँको आगामी कार्यक्षेत्रमा सफलताको कामना गरेका थिए।















