Logo

४ असोज, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको सरसफाइ तथा प्राविधिक परीक्षणको कार्य सुरु गरिएको छ। परीक्षणपछि मात्रै ती संरचनाहरूलाई पुनः प्रयोग गर्ने कि पुनर्निर्माण गर्ने भन्ने निर्णय गरिने भएको छ।

यसै क्रममा शनिबार रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरचनाको सरसफाइ तथा प्रारम्भिक प्राविधिक परीक्षण गरिएको छ। आगलागीबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको मन्त्रालय भवन अब प्रयोगयोग्य नरहेको नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिएका छन्।

बरालका अनुसार, “मन्त्रालयको भित्ताहरू केही हदसम्म सुरक्षित देखिए पनि स्ल्याबहरू पूर्ण रूपमा क्षतिग्रस्त छन्। यसले भवन प्रयोग गर्न निकै ठूलो जोखिम उत्पन्न गर्छ।” उनले थपे, “अब यो भवन मर्मत गरेर प्रयोग गर्नु उपयुक्त हुँदैन।”

नेपाल इन्जिनियर्स एशोसिएसनले भवन निर्माण विभागको समन्वयमा ध्वस्त संरचनाहरूको प्रारम्भिक प्राविधिक परीक्षण गरिरहेको छ। प्रारम्भिक परीक्षणपछि संरचनाहरूको अवस्थाका आधारमा पुनर्निर्माणका लागि सुझाव दिने एशोसिएसनको योजना छ।

बरालले सिंहदरबारभित्रका केही भवनहरू आंशिक रूपमा मात्र प्रयोगयोग्य देखिएको बताए। त्यस्तै, सर्वोच्च अदालतको उत्तरतर्फको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ भने दक्षिणतर्फको भवनमा कम जोखिम देखिएको उल्लेख गरे।

एशोसिएसनले प्राविधिक परीक्षण पश्चात मात्रै संरचना प्रयोगमा ल्याउनुपर्ने सुझाव दिएको छ, जसले भविष्यमा सम्भावित दुर्घटना वा जोखिमलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

यसबीच, सरकारी निकायहरूबीच समन्वय गरी क्षतिग्रस्त संरचनाहरूको शीघ्र मूल्याङ्कन र आवश्यक पुनर्निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।


सम्बन्धित समाचार