४ असोज, काठमाडौं । पछिल्लो समय नेपालमा चलेको जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरता र सामाजिक तनावले बाल संरक्षण क्षेत्रलाई गम्भीर संकटमा पारेको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले शनिबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनपछिको सन्दर्भमा नेपालमा बाल संरक्षणका लागि रणनीतिक मार्गचित्र’ विषयक छलफल कार्यक्रममा यो पीडादायी अवस्था सार्वजनिक गर्दै चिन्ता व्यक्त गरे।
अध्यक्ष पौडेलले भने, “यस पटक हामीले बाल दिवसको शुभकामना समेत सन्तोषजनक रूपमा दिन सकेनौं। जेनजी आन्दोलनको क्रममा सिजपको कार्यालय तोडफोड भयो। यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि हामीले बाल संरक्षणका लागि निरन्तर काम गर्नुपर्ने महसुस गरेका छौं।”
उनले थपे, “आन्दोलनका समयमा जेलबाट कैदीहरू छ्यापछ्याप्ती भागिरहेका थिए, जसले बालबालिका र महिलाको सुरक्षा संकट निम्त्याएको छ। हाल पनि जेलबाट छुटेका अपराधीहरूले बालबालिका र महिला असुरक्षित हुने अवस्था सिर्जना गरिरहेका छन्।”
पौडेलले अपांगता भएका बालबालिका, अल्पसंख्यक समुदायका बालबालिका र अन्य संवेदनशील समूदायका बालबालिका अझ बढी जोखिममा परेको उल्लेख गर्दै सामाजिक सुरक्षा र संरक्षणका लागि थप ध्यान दिनुपर्ने बताए।
उनी चेतावनी दिए, “अहिले बाल संरक्षणमा काम गरिरहेका संस्था र व्यक्तिहरू समेत आन्दोलनपछिको अस्थिरताका कारण निष्क्रियजस्तै भएका छन्। यो अवस्था निरन्तर रह्यो भने बालबालिकाको अधिकार र सुरक्षा थप कमजोर हुने छ।”
कार्यक्रममा सहभागी अन्य प्रतिनिधिहरूले पनि बाल संरक्षणका क्षेत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकार र समाजको साझा दायित्व हुने बताएका छन्।

















