५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री पदमा जान सक्ने नामहरूमा सहमति नजिक पुगेको र आइतबार वा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जेन–जीका प्रतिनिधिहरूले आफ्ना तर्फबाट मन्त्रीका लागि प्रस्तावित नाम पठाइसकेका छन्। तर अन्तिम निर्णय भने प्रधानमन्त्री कार्कीले नै गर्नेछिन्। कार्कीले मन्त्रिपरिषद्लाई समावेशी र जेन–जी पुस्ताको प्रतिनिधिमूलक बनाउने उद्देश्यले परामर्शलाई निरन्तरता दिँदै आएकी छन्। यही कारणले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भए पनि सोमबारसम्म पूर्णता प्राप्त गर्ने दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भइसकेकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। त्यसयता उनले विभिन्न पेशा, व्यवसाय र समुदायसँग व्यापक परामर्श गरेकी थिइन्। तर जेन–जीका प्रतिनिधिसँग सहमति टुंगोमा नपुग्दा मन्त्रिपरिषद् विस्तारमा समय लागेको हो।
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन। नीति, कार्यक्रम तथा तात्कालिक विषयमा छरितो निर्णय गर्न सक्ने अवस्था नबन्दा प्रशासनिक प्रक्रियामा समेत ढिलाइ भएको सरकारी अधिकारीहरूको भनाइ छ।
प्रधानमन्त्री कार्कीले भने संक्रमणकालीन चुनौती समाधान गर्न सरकारलाई शीघ्र कार्यक्षम बनाउनुपर्ने आवश्यकता दोहोर्याउँदै आएकी छन्। उनका निकट सहयोगीका अनुसार आगामी दिनमा मन्त्रिपरिषद् पूर्णतापछि सरकारको प्राथमिकता सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण रहनेछ।















