प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने प्रस्तावप्रति कडा आपत्ति जनाएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले पार्टीका अभिभावक (सभापति) माथि ‘घातक प्रहार’ हुँदा र उहाँको उपचार भइरहेका बेला नेतृत्व हस्तान्तरणको बहस चलाउनु उचित नभएको बताएका हुन् ।
उनले ‘उपचार पर्खन सकिँदैन, आकाश झरिहाल्छ?’ भन्दै व्यङ्ग्यात्मक प्रश्न सोधे । यस्तो संवेदनशील समयमा नेतृत्वको आलोचना गरेर ‘घाउमा नुन छर्ने काम भइरहेको महतको भनाई छ। उनले नेतृत्व परिवर्तनको हतारोमा भइरहेको यो बहसले पार्टी र देशलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी समेत दिए ।
महतले अघि भने, ‘चार दिनअघिसम्म त्यहीँ सभापति ठीक हुने, तर अहिले एक्कासी प्रश्न उठाउनु र तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नु गलत हो।’ उनले सबैलाई संयमित भएर सघन मन्थन गर्न र सामूहिक निष्कर्षमा पुग्न आग्रह गरे । यो घटना कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह र गुटबन्दीको एउटा उदाहरण हो ।















