मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको सरकारमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पनि सामेल हुने भएका छन् ।
प्रधानमन्त्री कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न तयार भएका हुन् । उनलाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । तर, शिक्षा मन्त्रालयको जिम्मेवारी पनि उनलाई दिने वा नदिने भन्नेबारे भने अझै निश्चित भइसकेको छैन ।
नेपालका ग्रामीण क्षेत्रमा वायरलेस इन्टरनेट पुर्याएर चर्चित बनेका र रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका पुनको मन्त्रिपरिषद्मा प्रवेशलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको समर्थनमा सरकारको नेतृत्व सम्हालेपछि यो मन्त्रिपरिषद् विस्तारको गृहकार्य भइरहेको छ । हाल प्रधानमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले काम गरिरहेको छ । सरकारले मन्त्रिपरिषद्मा एक जना दलित समुदायका प्रतिनिधिलाई पनि समेट्ने योजना बनाएको छ ।















