५ असोज, चितवन । झण्डै ३८ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउने प्रयास आज बिहानदेखि तीव्र रुपमा जारी रहेको छ। सडकको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने कार्य जारी छ। यदि सुख्खा पहिरो झर्ने क्रम रोकियो भने आज दिउँसो ३ बजेसम्म सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए। उनका अनुसार अहिले पनि झण्डै ३५ मिटर पहिरो सडकमा थुप्रिएको छ, जसलाई हटाउने काम भइरहेको छ।
सडक डिभिजनले मुग्लिन र नारायणगढ दुवैतर्फबाट २/२ वटा गरी ४ वटा मेसिन परिचालन गरेको छ। पहिरो खसेको स्थान साँघुरो भएका कारण थप मेसिन प्रयोग गर्न नसकिएको बताइएको छ। इन्जिनियर आचार्यका अनुसार माथिल्लो भागमा पत्रे चट्टान रहेका कारण पहिरो रोक्न थप समस्या भइरहेको छ। “काम गर्दै गर्दा पनि कुनैबेला थप पहिरो आउन सक्छ भन्ने जोखिम छ,” उनले भने।
असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो यता निरन्तर झरिरहेकाले मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ। यसका कारण मुग्लिनतर्फबाट नारायणगढ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुरबाट गएका सवारी साधनलाई टाँडी, भण्डारा, आँपटारी, जुगेडी र रामनगर क्षेत्रमा रोकिनु परेको छ। काठमाडौंबाट आएका सवारीलाई भने कुरिनटार, मुग्लिन र फिस्लिङमा रोकिएको छ।
मुग्लिन बजार क्षेत्रमा रोकिएका यात्रुहरुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण थालिएको छ। नारायणगढतर्फ पनि विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, बिस्कुट, पानी वितरण गरिएको छ।
त्यस्तै, सडकमा अलपत्र परेका यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले निःशुल्क खाना र खाजाको व्यवस्था गरेका छन्। सडक यथाशीघ्र सञ्चालनमा ल्याउन स्थानीय प्रशासन, सुरक्षाकर्मी र प्राविधिक टोली प्रयासरत छन्। पहिरो पूर्णरूपमा रोकिए मात्र यातायात सहज रुपमा सञ्चालन गर्न सकिने अधिकारीहरुको भनाइ छ।















