Logo

५ असोज,वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा अराजक समूहबाट गरिएको तोडफोड र आगजनीका कारण वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा करिब एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

गत भदौ २४ गते आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारी समूहले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। उक्त घटनामा भवन बाहेक कम्प्युटर, प्रिन्टर, स्क्यानर, युपिएस जस्ता विद्युतीय उपकरणहरू पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले दिएको जानकारीअनुसार, “करिब एक करोड रुपैयाँ मूल्य बराबरका विद्युतीय उपकरणमा क्षति पुगेको अनुमान गरिएको छ। कर संकलन शाखामा सबैभन्दा धेरै क्षति भएको छ। कम्प्युटर, प्रिन्टरलगायत सामग्रीहरू जलेका छन् र केही लुटपाट पनि भएको छ।”

कार्यालयका अनुसार, भवनको तल्लो तलामा रहेका अधिकांश कोठाहरूमा आगजनीको असर परेको छ। तीमध्ये एउटा कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ।
यस्तो क्षतिको कारण आन्तरिक राजस्व कार्यालयको दैनिक कर संकलन कार्य, अभिलेख व्यवस्थापन र सेवाप्रवाहमा ठुलो बाधा पुगेको छ। सेवा सुचारु गर्न वैकल्पिक उपायको खोजी भइरहेको जनाइएको छ।

गत भदौ महिनामा सुरु भएको जेन–जी आन्दोलन क्रममा वीरगञ्ज लगायतका क्षेत्रहरूमा विभिन्न सरकारी निकाय, सार्वजनिक सम्पत्ति र पूर्वाधारहरूमा क्षति पु¥याउने कार्यहरू भएका थिए। आन्तरिक राजस्व कार्यालयमा भएको क्षति अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक नोक्सानीमध्ये एक भएको अधिकारीहरू बताउँछन्।

प्रशासनले घटनापछि प्रारम्भिक मूल्यांकन सुरु गरिसकेको छ भने विस्तृत क्षतिको विवरण संकलन कार्य जारी रहेको छ। स्थानीय प्रशासन र प्रहरीद्वारा घटनामा संलग्नहरू पहिचान गर्न अनुसन्धान भइरहेको छ।

 


सम्बन्धित समाचार