५ असोज,वीरगञ्ज । वीरगञ्जमा एक महिनाअघि सुरु भएको हैजा संक्रमण पछिल्लो केही दिनयता पुनः तीव्र रूपमा बढ्न थालेको छ।
वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्रै संक्रमितको संख्या २१९ पुगेको छ भने पोखरिया अस्पतालमा थप १८ जना संक्रमित थपिएसँगै पर्सा जिल्लाभर यो संख्या २३७ पुगेको छ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, पछिल्ला तीन–चार दिनयता दैनिक २०–२२ जना बिरामी हैजाको लक्षण लिएर अस्पताल आइरहेका छन्।
“दूषित पानीकै कारण संक्रमण फेरि दोहोरिएको छ,” उनले बताए, “सावधानी नअपनाए अझ फैलिन सक्छ।”
हालसम्म वीरगञ्ज र पोखरिया मिलाएर कुल १,४५१ जना बिरामी अस्पतालमा भर्ना भएका छन्।जसमा १,४२१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अझै ३० जना उपचाररत छन्।
स्वास्थ्य कार्यालय पर्साका प्रवक्ता जयमोद ठाकुरले संक्रमण पुनः फैलिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीयवासीलाई स्वच्छता र सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले भने, “पानी उमालेर वा फिल्टर गरेर मात्र सेवन गर्नुस्। संक्रमितको सम्पर्कबाट टाढा रहनुहोस् र झोलिय पदार्थ प्रशस्त खानुहोस्।”

















