५ असोज, काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका ३६ जना केन्द्रीय नेताको घर जलाइएको छ ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज सार्वजनिक गरेको विवरणमा यो जानकारी दिइएको हो।
कस–कसको घर जल्यो ?
आन्दोलनकारीले जलाएका घरहरूमध्ये सभापति शेरबहादुर देउवाको काठमाडौंको बूढानीलकण्ठस्थित निवास पनि परेको छ। यसका साथै, उपसभापति पूर्णबहादुर खड्काको काठमाडौं र सुर्खेतमा, महामन्त्रीद्वय गगन थापाको रातोपुल र विश्वप्रकाश शर्माको ललितपुर र झापाको घर जलाइएको छ ।
विवरणअनुसार, पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, र डा. शशांक कोइरालाको घर पनि आन्दोलनका क्रममा जलाइएको छ । यसैगरी, डा. शेखर कोइराला, सञ्जय गौतम, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया सहित अन्य केन्द्रीय नेता तथा प्रदेश सभापतिहरूको घरमा पनि आगजनी भएको उल्लेख छ।















