५ असोज,सिम्रौनगढ । बडादसैँ सुरु हुनुअघि घटस्थापनाको पूर्वसन्ध्यामा बाराको सिम्रौनगढस्थित प्रसिद्ध कंकाली मन्दिर परिसरमा आज बृहत् सरसफाइ गरिएको छ। दसैँमा भक्तजनको आगमनलाई मध्यनजर गर्दै यो सरसफाइ अभियान चलाइएको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढको आयोजनामा भएको यस सरसफाइ कार्यक्रममा विभिन्न निकायको सहभागिता रहेको थियो। कन्काली माई मन्दिर, मनसाराम समाधि स्थल, त्रिलोकीनाथ, पार्वती मन्दिर, भैरव नाथ र विश्वकर्मा मन्दिर वरपरका साथै बसपार्क क्षेत्रमा सरसफाइ गरिएको हो।
अभियानमा सशस्त्र प्रहरी बल (बिओपी गोलागन्ज), सिम्रौनगढ नगरपालिकाका नगर प्रहरी, उद्योग वाणिज्य सङ्घ सिम्रौनगढ र उत्तम पब्लिक स्कुलका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता थियो।
दसैँको समयमा मन्दिरमा भक्तजनको भीड बढ्ने भएकाले सरसफाइले स्वस्थ र स्वच्छ वातावरण कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।















