Logo

६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप मन्त्रीहरूको सपथ आज हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच मन्त्रीको नाम सिफारिस गरेपछि राष्ट्रपति समक्ष सिफारिस पठाइएको हो।

बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरेको छ। त्यसैगरी, आविष्कारक तथा प्राध्यापक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी सुम्पने प्रस्ताव गरिएको छ।

स्वास्थ्य मन्त्रालयका लागि डा. संगीता मिश्राको नाम पनि सिफारिस गरिएको थियो। तर, उनको नाम अन्तिम क्षणमा होल्ड गरिएको छ। मिश्राको लामो अनुभव र स्वास्थ्य क्षेत्रमा योगदानलाई सकारात्मक रूपमा हेरिए पनि विगतमा भ्रष्टाचार प्रकरणमा जोडिएको आरोप लागेपछि उनको नियुक्ति रोकिएको स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीकै निर्देशनमा मिश्राको नाम अस्थायी रूपमा स्थगित गरिएको हो।

राष्ट्रपतिले नियुक्ति गर्ने तयारी गरिरहँदा प्रधानमन्त्रीकै आग्रहमा स्वास्थ्य मन्त्रालयमा तत्काल नियुक्त नगर्न फोन गरिएको शीतल निवास स्रोतले जानकारी दिएको छ। अन्य चार मन्त्रीको भने आज बिहानै शपथ ग्रहण हुने भएको छ। तर, शपथको सटीक समय भने राष्ट्रपति कार्यालयले अझै सार्वजनिक गरेको छैन।

यसअघि, कार्की नेतृत्वको सरकार गठन भएको तेस्रो दिनमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरिसकिएको छ। नयाँ पाँच मन्त्रीको सिफारिससँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढ्दै गएको छ।

सरकारलाई पूर्णता दिने प्रक्रियामा ढिलाइ भए पनि समावेशी प्रतिनिधित्व र जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक व्यवस्थासँग सन्तुलन मिलाउने प्रयत्नस्वरूप मन्त्रिपरिषद् विस्तार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै