६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको नाम अन्तिम समयमा ‘होल्ड’ गरिएको छ ।
उनीमाथि भ्रष्टाचारको आरोप लागेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिएको बताइएको छ। आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित पाँच जनाको नाम मन्त्रीका लागि राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् । तर, नाम सिफारिस भएलगत्तै डा. मिश्रा विवादित पात्र भएको सूचना प्रधानमन्त्री कार्यालयमा पुगेको थियो। यसैकारण, आइतबार दिउँसो २ बजेका लागि तय भएको मन्त्रिपरिषद् विस्तार र शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।
राजीनामा दिएर मन्त्रीको तयारीमा थिइन् डा. मिश्रा
मन्त्री बन्ने खबर पाएपछि डा. संगीता मिश्राले आइतबार नै स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । उनी लामो समयदेखि स्वास्थ्य सचिव नपाएको झोकमा बिदामा बसेकी थिइन्। यसअघि उनले वरिष्ठता मिचेर डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।
जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिएपछि खाली रहेको उक्त पदमा उनको सिफारिस भएको थियो । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, कोशी र प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट लगायतका जिम्मेवारी सम्हालिसकेकी छन् ।















