६ असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ स्थित जगतपुर गाउँमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ।
विओपी प्रसौनी भठ्ठाबाट खटिएको प्रहरी टोलीले बाख्रा राख्ने छाप्रोभित्र कालो झोलामा लुकाइ राखिएको अवस्थामा चरेस बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले झोलाबाट १९ किलो १२६ ग्राम चरेस फेला पारेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
बरामद गरिएको चरेसलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
यससँगै सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता बढाएको देखिन्छ।















