Logo

काठमाडौं, ६ असोज। दशैंको घटस्थापना सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेका बेला देशभरका ६ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बाढी र पहिरोले गर्दा यी सडकखण्डमा यातायात ठप्प भएको हो। सडक विभागले अहिले १६९ वटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याएको जनाएको छ ।

अरनिको राजमार्ग आजै खुल्ने आशा

दशैंको यात्रालाई सहज बनाउन सडक विभागले युद्धस्तरमा काम गरिरहेको छ। विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार काठमाडौं–कोदारी (अरनिको राजमार्ग) आज साँझसम्म खुल्ने गरी काम भइरहेको छ ।

अवरुद्ध राजमार्ग र समस्याहरूः

बाढीले सडक कटान गरेपछि अवरुद्ध भएको यो राजमार्ग खुलाउन स्काभेटर र लोडर प्रयोग भइरहेको छ । कोशी राजमार्ग वरूण नदीमा डाइभर्सन बगेको र पुल निर्माणको काम बाँकी रहेकाले अवरुद्ध भएको छ। पानीको सतह घटेपछि मात्रै मर्मतसम्भारको काम अगाडि बढ्नेछ । तमोर नदीमा रहेको रानीपुल बेली बाढीले बगाएपछि यो करिडोर पनि पूर्ण रूपमा ठप्प छ ।

अन्य अवरुद्ध राजमार्गहरूमा ठोरी–भण्डारा–मलेखु र गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी लगायतका सडक पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वमा यात्रुलाई सास्ती नहोस् भन्नका लागि सडक मर्मतको काम छिटो सक्न आग्रह गरेका छन्। सडक विभागले भने दशैं लक्षित गरी देशभरका करिब ४ लाख स्क्वायर मिटर खाल्डाखुल्टी पुर्ने काम भइरहेको जनाएको छ।
यस्तो अवस्थामा, यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनु निकै महत्त्वपूर्ण हुनेछ।


सम्बन्धित समाचार