Logo

काठमाडौं, ६ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको नयाँ सरकारलाई आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताएको छ ।

आईएमएफका नेपाल मिशन प्रमुख जहन सरवत र अर्थमन्त्री रामेश्वरप्रसाद खनालबीच भएको भर्चुअल बैठकमा यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।

जेनजी आन्दोलन र सुशासनको प्रतिबद्धता

बैठकमा अर्थमन्त्री खनालले जेनजी युवाहरूको आन्दोलनबाट उठेका सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने मागप्रति वर्तमान सरकार कटिबद्ध रहेको जानकारी गराए । उनले अहिलेको सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको पनि बताए । मन्त्री खनालले आईएमएफको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप गति दिने प्रतिबद्धता पनि जनाए ।

छैटौं समीक्षा प्रतिवेदनको तयारी

दुई पक्षबीच आईएमएफको सहयोगमा सञ्चालित विस्तारित कर्जा सुविधाको कार्यान्वयन अवस्थाबारे पनि छलफल भएको थियो ।  यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै आईएमएफको बोर्ड बैठकमा पेस गर्ने विषयमा पनि सहमति भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । आईएमएफका मिसन प्रमुख सरवतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताएका छन् । यस बैठकमा नेपालस्थित आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ताको पनि उपस्थिति थियो ।


सम्बन्धित समाचार