Logo

६ असोज,सेढवा । पर्साको ठोरी गाउँपालिकामा बहुप्रतिक्षित ’ठोरी गोल्ड कप’ फुटबल प्रतियोगिताको चौथो संस्करण असोज १३ गते (फुलपातीको दिन) देखि सुरु हुने भएको छ। समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने यो प्रतियोगिता जिन्जी आन्दोलनका कारण मिति सर्ने आशंका गरिए पनि परिस्थिति सामान्य बनेपछि निर्धारित समयमै गर्ने निर्णय गरिएको हो।

प्रतियोगितालाई व्यवस्थित बनाउन आयोजक समितिले दुई महिना अघिदेखि नै तयारी थालेको छ। आयोजक समितिका अध्यक्ष गोपी श्रेष्ठका अनुसार, यसपटक दर्शकका लागि सशुल्क र निःशुल्क दुवै व्यवस्था गरिएको छ। करिब ४०० दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको छ, जहाँ टिकट काटेर खेल हेर्न सकिनेछ। बाँकी तीन भागबाट भने दर्शकले निःशुल्क रूपमा खेलको अवलोकन गर्न पाउनेछन्।

यस प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा चितवन, हेटौंडा, लालबन्दी, वीरगञ्ज, बारा, झापा, र भारतको कलकत्ता लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका टिमहरूले सहभागिता जनाउनेछन्। राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउने आयोजकको विश्वास छ।

प्रतियोगिताको उद्घाटन खेलमा कलकत्ता र झापाका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कार्तिक ४ गते हुने तय भएको छ। आयोजक समितिले खेललाई सुरक्षित र दर्शकमैत्री बनाउन विशेष व्यवस्थापन रणनीति अपनाएको जनाएको छ।


सम्बन्धित समाचार