६ असोज,सेढवा । विजयादशमी तथा तिहार–छठ जस्ता चाडपर्वको सुरुवातसँगै पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा जुवा र तास खेल्ने प्रवृत्ति तीव्र रूपमा बढ्न थालेको छ। ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा जुवाको लत युवा पुस्तादेखि लिएर बयस्कहरूमाझ समेत फैलिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
स्थानीयका अनुसार जुवाडेहरू रातभर गोप्य र सुरक्षित स्थानमा तास–जुवा खेल्ने गर्छन्। यस्ता स्थानहरूमा हुने होहल्ला, अपशब्द प्रयोग र झगडाका कारण वरपरका घरपरिवारहरू हैरान भएका छन्।
“रातभरि तासको होहल्ला, मोटरसाइकलको आवाज, अनि गालीगलौज सुन्नुपर्छ। बच्चाहरू सुत्न सक्दैनन्,” पर्सागढी नगरपालिका–३ का एक स्थानीय बासिन्दाले भने।विशेषगरी दशैंको अवसरमा भएको तलब, बोनस, ऋण र कर्जा लिएर जुवामा लगानी गर्ने प्रवृत्ति बढेकाले कतिपय परिवारमा कलहको वातावरण सिर्जना भएको छ।
“हामीले दैनिक गुजारा चलाउन गाह्रो छ। तर श्रीमान्ले दशैंको खर्च भनेर ल्याएको पैसा सबै जुवामा हारेपछि झगडा भइरहन्छ,” जिराभवानी गाउँपालिकाकी एक महिलाले भनिन्।यसै क्रममा, जुवामा ठूलो रकम हारेर ऋणको भार सहन नसक्दा आत्महत्याका घटनाहरू समेत सार्वजनिक भएका छन्। यस्ता घटनाले समाजमा गम्भीर असर पार्न थालेको सामाजिक अगुवाहरू बताउँछन्।
प्रहरीमाथि संरक्षणको आरोप
जुवातासको यस्तो खुल्ला खेलमा प्रहरीले कुनै पनि किसिमको कारबाही नगरेको भन्दै स्थानीय बुद्धिजीवी र समाजसेवीहरूले गम्भीर आरोप लगाएका छन्।स्रोतका अनुसार, जुवा सञ्चालन गर्ने गिरोहले स्थानीय प्रहरी प्रशासनलाई नियमित रूपमा नजराना बुझाउने गर्छन्। यही कारणले गर्दा जुवा नियन्त्रणमा लिनेतर्फ प्रहरीले चासो नदेखाएको आरोप लाग्दै आएको छ।
“प्रहरीसँग जानकारी छ, तर कारबाही हुँदैन। यसको मतलब स्पष्ट छ – संरक्षण भइरहेको छ,” एक स्थानीय समाजसेवीले नाम नबताउने शर्तमा भने।
स्थानीयवासी तथा सामाजिक संघसंस्थाहरूले चाडपर्वको समयमा जुवातासका गतिविधिमा तत्काल नियन्त्रण गर्न माग गरेका छन्। यसका लागि विशेष गस्ती टोली खटाई कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। यदि यस्ता गतिविधिहरू तत्काल रोकिएनन् भने सामाजिक सन्तुलन भत्किनसक्ने र अपराध दर थप बढ्नसक्ने चिन्ता व्यक्त गरिएको छ।















