Logo

६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्दै चार नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्। शपथ लिने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन्।

पदबहालीसँगै सिन्हाले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्। पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।

यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो तर अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री सुशीला कार्की गत भदौ २७ गते नियुक्त भएकी थिइन्। आजको शपथपछि उनको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ।

शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदाधिकारीहरूको उपस्थिति थियो।


सम्बन्धित समाचार