Logo

७ असोज, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज भन्सार नाका हुँदै रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपी ग्यास), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल उक्त अवधिमा आयात गरिएका प्रमुख पेट्रोलियम पदार्थ हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा पेट्रोलियम पदार्थ आयात मूल्य रु एक अर्ब ७६ करोडले बढी भएको छ । आयातमा वृद्धिसँगै सो नाकाबाट रु एक अर्ब २९ करोड बढी राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो,” प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए। गत आवको दुई महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्ब ८९ करोड राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब १८ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

दुई महिनाको अवधिमा रु ११ अर्ब ९१ करोड बराबरको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात भएको छ । यसबाट रु पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा भने रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व प्राप्त भएको थियो ।

यस्तै, चालु आवको दुई महिनामा रु ६ अर्ब ८२ करोड बराबरको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात भएको छ। यसबाट रु चार अर्ब ५४ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु ६ अर्ब ४० करोड मूल्यको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व संकलन भएको थियो ।

सोही अवधिमा रु पाँच अर्ब १२ करोड बराबरको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्यास आयात भएको छ। यसबाट रु ९६ करोड राजस्व सङ्कलन भएको छ । गत वर्षको सोही अवधिमा रु पाँच अर्ब ३६ करोड बराबरको चार करोड ९७ लाख ५५ हजार एक सय ९४ किलो एलपी ग्यास आयात हुँदा रु एक अर्ब राजस्व प्राप्त भएको थियो ।

डिजेल, पेट्रोल र एलपी ग्याससँगै एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल पनि आयात भएका छन् । यद्यपि ती पदार्थको परिमाण तथा राजस्व विवरण भने तुलनात्मक रूपमा कम देखिएको कार्यालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको उच्च आयातले आन्तरिक उपभोगमा बढ्दो निर्भरता झल्काएको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार