Logo

७ असोज, काठमाडौं । राजधानीको न्यूरोडसहित विभिन्न स्थानमा राज्य संयन्त्रकै मिलेमतोमा संगठित गिरोहले अवैध रूपमा भित्र्याएको सुन–चाँदीको खुलेआम कारोबार भइरहेको छ। राजनीतिक अस्थिरता र चाडपर्वको मौकामा तस्करहरूले भारत र चीनबाट ल्याएको सुन बजारमा आपूर्ति गर्न थालेपछि वैध रूपमा कारोबार गर्ने व्यवसायीहरू मर्कामा परेका छन्।

‘जेनजी’ आन्दोलनका क्रममा सिंहदरबारलगायत कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामै आगजनी भएपछि सुरक्षा निकायको मनोबल कमजोर भएको अवस्थाको फाइदा उठाउँदै तस्करहरूले बजारमा दबदबा जमाएको देखिएको छ।

प्रहरीले तस्करीमा संलग्न व्यापारीहरूको पहिचान गरे पनि दोषीमाथि कारबाही अघि बढ्न नसक्दा अवैध कारोबार झनै मौलाएको व्यवसायीहरूको गुनासो छ। “तस्करीको सुनको विगविगीका कारण वास्तविक व्यवसाय नै धरापमा परेको छ,” बानेश्वरका एक गहना व्यापारीले बताए।

अन्तर्राष्ट्रिय संगठित अपराधसँग जोडिएका व्यापारीहरूको पहिचान भए पनि राज्य संयन्त्रका उच्च तहका व्यक्तिसमेत यसमा तानिन सक्ने अवस्था देखिएपछि अनुसन्धान रोकिएको प्रहरी स्रोतको भनाइ छ। भेप, ब्रेक सुजस्ता उपकरणमा लुकाएर ल्याइएको सुन नेपालकै पसलहरूले खरिद गरी सर्वसाधारणलाई बेचेको तथ्य प्रहरी अनुसन्धानमै खुलिसकेको छ।

६० किलो सुन प्रकरणपछि भएको अनुसन्धानमा मात्र एक समूहले वार्षिक करिब ३५ हजार किलो सुन तस्करी गरेको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सार्वजनिक गरेको थियो। भन्सार छलेर ल्याइएको सुन सामान्य उपभोक्तासमेतलाई बिक्री भएको बयान पक्राउ परेकाहरूले दिएका थिए।

सीआईबीको अनुसन्धानअनुसार काठमाडौं उपत्यका भित्र र बाहिरका दर्जनौँ व्यापारी अवैध कारोबारमा संलग्न छन्। न्यूरोडस्थित लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, जागेश्वरी ज्वेलर्स लगायतका पसलहरू यसमा मुछिएका छन्। भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीसँगको मिलेमतोमा यी पसलहरूले तस्करीको सुन खरिद गरी ‘रिफाइनरी’ बाट नक्कली बिल बनाएको पाइएको छ।

महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा न्यूरोडका ४८ पसलमध्ये ८७ प्रतिशतले अवैध सुन खरिद गरेको उल्लेख छ। आन्तरिक राजस्व कार्यालय न्यूरोडले समेत सयपत्री ९मेरिगोल्ड० ज्वेलर्स, गहनागृह, निलम ज्वेलर्स, कुमकुम ज्वेलर्स, एचएल गोल्ड एण्ड सिल्भर हाउस, जयमाँताजी, जेजे ज्वेलर्स, अवतार ज्वेलर्स, मारुती ज्वेलर्स, अश्री ज्वेलर्स, गणपति ज्वेलर्स सगुन ज्वेलर्स लगायतले बैंकमार्फत खरिद भन्दा बाहिरबाट ल्याइएको सुनमा निर्भर रहेको जनाएको छ।

काठमाडौंको सोह्रखुट्टे, ठमेल, बालाजु, दरबारमार्ग, बानेश्वर, सिनामंगल, टोखा र नक्सालमा रहेका अधिकांश पसलहरूले अवैध सुन खरिद गर्ने गरेको प्रहरीको बुझाइ छ।

राज्यको गलत नीति र खुला सीमाना तस्करी बढाउने मुख्य कारण भएको बताइन्छ। प्रत्येक वर्ष करिब ३५ हजार किलो कच्चा सुन अवैध रूपमा नेपाल प्रवेश गर्ने र यसैबाट मात्रै राज्यलाई करिब ३४ अर्ब राजस्व नोक्सान हुने आन्तरिक राजस्व विभागले जनाएको छ। सुनमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था भए पनि तस्करीका कारण सरकारले उठाउनुपर्ने रकम गुमिरहेको छ।

व्यवसायीहरूको भनाइमा, भारतसहित तेस्रो मुलुकबाट वार्षिक ५ हजार किलो तयार सुनका गहना पनि नेपालमा बिक्री हुने गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष शिव कुमार सरार्फका अनुसार नेपालमा वार्षिक ५० हजार किलो सुन खपत हुन्छ। काठमाडौं उपत्यकामा मात्र दैनिक ३०–३५ किलो सुन गहनाको कारोबार हुने गरेको उनले बताए।

“बैंकले दिने सुनले मात्र बजार थेग्न सकिँदैन, अवैध मार्गको सुन नलिने हो भने व्यवसाय चलाउनै मुस्किल हुन्छ,” सरार्फले भने। नेपालको भन्दा भारतमा भंसार सस्तो रहेकोले सीमावर्ती क्षेत्रमा सुनको तस्करी बढेको सरार्फको भनाई छ ।


सम्बन्धित समाचार