७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान सवा ९ बजेदेखि पार्टी कार्यालयमा जारी छ।
पछिल्लो समय चर्चामा रहेको जेएनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बैठकको औपचारिक सुरुवात गरिएको थियो । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी निर्वाचनको रणनीति र पार्टीको महाधिवेशनसहितका सात मुख्य एजेन्डाहरूमाथि गम्भीर छलफल भइरहेको छ । बैठकका कार्यसूचीहरूमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, प्रदेश बैठकहरूबाट प्राप्त प्रतिवेदनको प्रस्तुति, र केन्द्रीय सदस्यहरूको धारणा लिने विषय प्रमुख छन् ।
साथै, संगठन विस्तार तथा विभाग गठनका विषयमा पनि छलफल भइरहेको छ । विशेषगरी, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्ने कार्यसूचीलाई प्राथमिकतामा राखिएको छ ।
यसका साथै, पार्टीको ऐतिहासिक महाधिवेशनको तयारी र अन्य विविध विषयहरूमा पनि छलफल हुनेछ । यो बैठकले पार्टीको भविष्यको दिशा र आगामी निर्वाचनका लागि महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। बैठकको नतिजा आउन बाँकी रहेको छ ।















