७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते भएको आगजनीमा गम्भीर घाइते भएकी घरेलु कामदारको सोमबार मृत्यु भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा आगजनी हुँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशीलादेवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ की हजरा रुंगटाको वीरगन्ज–१३ स्थित निवासमा घरेलु कामदारको रूपमा कार्यरत थिइन्। भदौं २४ गते जेनजी आन्दोलनको क्रममा अराजक समूहले रुंगटाको घर परिसरमा रहेका ४ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए।
घटनाको बेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजरा र भारत बिहारका १८ वर्षीय विनय यादव गम्भीर रूपमा घाइते भएका थिए। उनीहरूलाई महानगरपालिकाको वारुण यन्त्रको भर्याङ प्रयोग गरी उद्धार गरिएको थियो। सो क्रममा हजराको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
घटनापछि उनलाई तत्कालै वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा स्थानान्तरण गरिएको थियो। त्यही अस्पतालमा सोमबार बिहान १०ः२२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
त्यही आगजनीमा जलेका यादवको पनि कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। शरीरको ९० प्रतिशत भाग जलेका यादवको अवस्था अहिले सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटना जेनजी आन्दोलनको नाममा भएको अराजक क्रियाकलाप भएको र यसबारे थप अनुसन्धान भइरहेको छ।















