७ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, कटुन्जेमा गएराति सामान्य झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि नै आक्रमण भएको छ । यो घटनाले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरीको सुरक्षामाथि नै गम्भीर प्रश्न उठाएको छ।
राति झगडा भएको खबर पाएपछि प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायब निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थल पुगेका थिए । तर, झगडा गर्ने समूहले उनीहरूमाथि नै हातपात गर्दा दुवैजना सामान्य घाइते भएका छन् । उनीहरूको सूर्यविनायक नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । प्रहरीमाथि आक्रमण गर्नेमध्ये दोलखाका ३२ वर्षीय अर्जुन तामाङलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। पछि जिल्ला प्रहरी परिसर भक्तपुरले थप फौज परिचालन गरी अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हालैको जेएनजी प्रदर्शनपछि आपराधिक गतिविधिमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमणका घटनाहरू हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन् । यस घटनापछि सामाजिक सञ्जालमा समेत प्रहरीको सुरक्षालाई लिएर व्यापक बहस सुरु भएको छ। समाजलाई सुरक्षित राख्ने जिम्मा पाएको प्रहरी नै असुरक्षित हुन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।















