७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा जलेर मृत्यु भएकी घरेलु कामदार शोशिला देवी हजराको परिवारलाई सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक क्षतिपूर्ति दिने भएको छ। गाउँपालिका अध्यक्ष यसवन्त यादवले मृतकको परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२ की ४५ वर्षीया हजरा गत भदौं २४ गते आन्दोलनका क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी थिइन्। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेपछि उनलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेज हुँदै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो। असोज ६ गते उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
गाउँपालिका अध्यक्ष यादवले शोशिलाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनलाई समवेदना प्रकट गरे। उनले भने, “शोशिलाको निधनले हामी मर्माहत छौँ। यो अपूरणीय क्षति हो। परिवारलाई यो कठिन घडीमा साथ दिन हामीले एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौँ।“
यादवका अनुसार मृतक शोशिलाका पाँच छोरी र एक छोरा छन्। उनका श्रीमान् केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। अध्यक्ष यादवले हिंसात्मक गतिविधिले समाजमा अशान्ति फैलाउने भन्दै शान्ति र संयम अपनाउन सबैमा आग्रह पनि गरे।
उक्त आगजनीमा भारत बिहार राज्यको सुगौली निवासी १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। शरीरको ९० प्रतिशत भाग जलेका यादवको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।
भदौं २४ गते भएको उक्त अराजक घटनामा अनिल रुङ्टाका साथै पूर्व खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व कानुन मन्त्री अजय चौरसिया, पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली काँग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो।
प्रहरीका अनुसार उक्त घटना जेनजी आन्दोलनको नाममा भएको अराजक गतिविधिको परिणाम हो र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।















