Logo

७ असोज, काठमाडौं ।अफगानिस्तानका एक १३ वर्षीय बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। जीवन र मृत्युसँगको खेल जस्तै देखिने यो घटना आइतबार, सेप्टेम्बर २१ मा भएको हो।

केएएम एयरलाइन्सको उडान आरक्यू-४४०१ अफगानिस्तानको राजधानी काबुलस्थित हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:४६ बजे उडेको थियो। विमान भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:२० बजे अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमान अवतरण गरेपछि एयरलाइन्सका कर्मचारीहरूले विमान नजिकै एक बालक घुमिरहेको देखे। शंका लागेपछि सीधा सुरक्षा निकायलाई खबर गरियो। त्यसपछि केन्द्रीय औद्योगिक सुरक्षा बल (CISF) ले ती बालकलाई नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई जिम्मा दिएको हो।

जिल्ला कुन्दुजका ती बालकले प्रारम्भिक अनुसन्धानमा आफूले “विमानको पाङ्ग्रामा लुकेर यात्रा गर्दा कस्तो महसुस हुन्छ भनेर थाहा पाउन चाहेको” बताएका छन्। बालकले काबुल विमानस्थलमा लुकेर विमानको ल्यान्डिङ गियर डिब्बामा प्रवेश गरेका थिए।

विमानको ल्यान्डिङ गियर डिब्बा अत्यधिक जोखिमपूर्ण स्थान हो। ३०,००० फिटको उचाइमा तापक्रम माइनस ४० देखि माइनस ६० डिग्री सेल्सियससम्म पुग्ने गर्छ, र अक्सिजनको स्तर पनि अत्यन्त न्यून हुन्छ। यस्तो अवस्थामा केही मिनेटमै मानिस बेहोस हुने वा मृत्यु हुने सम्भावना रहन्छ।

सुरक्षा विज्ञहरूका अनुसार यस्ता लुकेर यात्रा गर्ने प्रयासहरूमा विश्वभर बाँच्ने दर करिब २० प्रतिशत मात्रै छ। बालकको जीवन बचिनु चमत्कारसरह भएको उनीहरू बताउँछन्।

बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत प्रवेश गरेको थाहा पाएपछि विमानको तत्काल निरीक्षण गरिएको थियो। विस्तृत जाँचपछि विमानमा कुनै गडबडी नभएको पुष्टि भएको थियो। त्यही दिन बालकलाई सोही एयरलाइन्सको अर्को उडानमार्फत अफगानिस्तान फिर्ता पठाइएको हो।

सन् २०२१ को अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि, हजारौं अफगानी नागरिकहरू देश छोड्न आतुर भएका थिए। काबुल विमानस्थलमा मानिसहरूको भीड देखिएको थियो। केही नागरिकहरू अमेरिकी सैन्य विमानको पाङ्ग्रामा झुण्डिएका थिए भने कतिपय आकासबाट खसेर मृत्यु भएको दृश्यसमेत सार्वजनिक भएका थिए।


सम्बन्धित समाचार