७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको कार्यशैली र परिवर्तित राजनीतिक अवस्थालाई लिएर विशेष महाधिवेशन आह्वान गर्न दबाब बढ्दै गएको छ।
पार्टीका १०९ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टी विधानको धारा १७ (२) अनुसार, केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । यही व्यवस्थालाई टेकेर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराईलगायतले यो अभियान थालेका हुन् । अभियानका एक अगुवा नारायण भट्टराईका अनुसार, केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने सम्भावना कम भएकाले हस्ताक्षर अभियानको बाटो रोजिएको हो । ‘यो अभियानमा कुनै विशेष समूहको मात्र नभई पार्टीका सबै पक्षका साथीहरू सहभागी हुनुहुन्छ,’ उनले भने।
हस्ताक्षरकर्ताहरूले जारी गरेको विज्ञप्तिमा हालको विषम राजनीतिक परिस्थितिमा कांग्रेस मूकदर्शक बन्न नहुने उल्लेख छ । उनीहरूले वर्तमान अवस्था आउनुमा पार्टीको विगतका नीति र निर्णयहरू जिम्मेवार छन् कि छैनन् भन्दै नेतृत्वलाई प्रश्न सोधेका छन् । साथै, नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउने कार्यकर्तालाई किनारा लगाइएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
पार्टीका केही भ्रातृ संस्थाहरू र केही जिल्ला तहका नेताहरूले पनि यसअघि नै विशेष महाधिवेशनको माग गर्दै आएका थिए। यो हस्ताक्षर अभियानले पार्टीभित्रको आन्तरिक असन्तुष्टि थप छताछुल्ल पारेको छ।















