७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेन बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत फेनले घिसिङलाई उनको सफल कार्यकालको लागि बधाई र शुभकामना दिएका छन् ।
पुनर्निर्माण, चुनाव र सुशासन सरकारको प्राथमिकता
भेटमा मन्त्री घिसिङले भदौको जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको मुख्य प्राथमिकतामाथि प्रकाश पारे । उनले आन्दोलनका कारण क्षति भएका संरचनाहरूको पुनर्निर्माण, आमचुनावको तयारी र देशभर सुशासन कायम गर्नु नै सरकारको प्रमुख लक्ष्य रहेको स्पष्ट पारे । नेपाल र बेलायतबीचको लामो मित्रताको प्रशंसा गर्दै घिसिङले नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि बेलायतले गरिरहेको सहयोग प्रभावकारी रहेको बताए ।
सहकार्यको नयाँ आयाममा छलफल
मन्त्री घिसिङले बेलायती लगानीकर्ताहरूलाई नेपालको ऊर्जा क्षेत्रमा आकर्षित गर्न सार्वजनिक–निजी साझेदारी मोडेल, ग्रिन हाइड्रोजनको विकास र जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको जोखिम अध्ययनमा सहयोग गर्न अनुरोध गरे । जवाफमा राजदूत फेनले नेपालको सफलता बेलायतको सफलता भएको बताउँदै नेपालको आर्थिक रूपान्तरणमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।















